Thursday, December 22, 2022

Competencies of Teachers

 

शिक्षकमा हुनु पर्ने सक्षमताहरु(Competencies of Teachers)

 

शिक्षा मन्त्रालयले शिक्षकका लागि आठवटा सक्षमता निर्धारण गरेको छ ।तात्कालिक  शैक्षिक जनशक्ति विकास केन्द्रले तयार पारेको शिक्षक सक्षमताको प्रारूप शिक्षामन्त्री अध्यक्ष रहेको शैक्षिक जनशक्ति विकास परिषद्ले स्वीकृत गरेको हो ।शिक्षामा गुणस्तर ल्याउनकालागि शिक्षकमा हुनु पर्ने आठवटा सक्षमता किटान गरिएको छ। शिक्षकमा हुनैपर्ने ८ सक्षमता :

१)विषयवस्तुको ज्ञान

२)शिक्षण सिकाइका तौरतरिकासम्बन्धी ज्ञान

३)बालबालिका सिकारुसम्बन्धी ज्ञान

४)सिकाइ वातावरण र कक्षा व्यवस्थापनसम्बन्धी ज्ञान

५)सञ्चार र सहकार्य

६)निरन्तर सिकाइ र पेसागत विकास

७)कानुनी आधार तथा पेसागत आचारसंहिता

८)सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान रहेका छन् ।

 

शिक्षक सक्षमताको प्रारूप २०७२ अनुसार शिक्षकको सक्षमताहरु

सक्षमता १ : विषय वस्तुको ज्ञान (Content Knowledge)

विद्यार्थीहरूको सिकाइ आवश्यकतालाई सम्बोधन गर्न आफूले अध्यापन गर्ने विषयमा गहन ज्ञान भएको ।

·       सम्बन्धित विषय वस्तुमा गहन तथा अद्यावधिक ज्ञान,

·       सम्बन्धित विषयको अवधारणा, सिद्धान्त तथा आपसी सम्बन्धबारे जानकारी,

·       अध्यापन गर्ने विषयको पाठ्यक्रमको बनौटलगायत समग्र पक्षको,

·       ज्ञान तथा अन्य विषयसँगको अन्तरसम्बन्धको जानकारी,

·       विषय वस्तुको स्थानीय परिवेशसँगको सान्दर्भिकता सम्बन्धी ज्ञान ।

सक्षमता २ : शिक्षण सिकाइका तौर तरिका सम्बन्धी ज्ञान (Pedagogical Knowledge)

·       शिक्षण सिकाइ प्रक्रिया सम्बन्धी गहन ज्ञान भएको र सो ज्ञानलाई शिक्षण सिकाइमा उपयुक्त तवरले प्रयोग गर्न सक्षम ।

·       शिक्षण सिकाइका विभिन्न तौर तरिका तथा नवीनतम् शिक्षण प्रविधिमा अद्यावधिक ज्ञान,

·       पाठ्यक्रमका उद्देश्य तथा सक्षमताहरू हासिल गराउने गरी शैक्षणिक योजना र रणनीति तय गर्न,

·       विषय वस्तुको प्रकृति, विद्यार्थीको स्तर तथा वैयक्तिक भिन्नतालाई ख्याल गरी उपयुक्त शिक्षण विधिको छनोट गर्न,

·       सक्रिय सिकाइको लागि उपयुक्त शिक्षण विधि तथा सामग्रीको प्रयोग गरी सिकाइ सहजीकरण गर्न,

·       उपयुक्त साधनहरूको प्रयोग गरी सिकाइका विविध पक्षको मूल्याङ्कन गर्न, नतिजाको विश्लेषण गर्न तथा सोको उपयोग गर्न,

·       सिकाइ सुनिश्चितताका लागि निरन्तर विद्यार्थी मूल्याङ्कन गरी आवश्यकताअनुसार उपचारात्मक शिक्षण गर्न ।

सक्षमता ३ : बाल बालिका/सिकारु सम्बन्धी ज्ञान (Knowledge About Children/Learners)

·       बाल बालिकाहरूको विविध सिकाइ आवश्यकता पहिचान गरी सो अनुरूप शिक्षण गर्न सक्षम ।

·       बाल बालिकाहरूको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासको ज्ञान तथा त्यसको शिक्षणसँगको सम्बन्ध बारेमा जानकारी राखी उपयोग गर्न,

·       बाल बालिकामा भएको पूर्व ज्ञानको उचित आँकलन गरी नयाँ सिकाइसँग सम्बन्ध स्थापित गर्न,

·       सिकारुको भाषिक तथा सामाजिक, साँस्कृतिक मूल्य मान्यता र विविधताको पहिचान गरी सोको सम्मान गर्न,

·       प्रत्येक बाल बालिकाले सिक्ने अधिकार राख्छन् र सिक्न सक्छन् भन्ने कुराको आत्मसात गर्दै उच्च सिकाइको अपेक्षा गर्न,

·       बाल बालिकामा रहेको विशेष सिकाइ आवश्यकता तथा विशिष्ट क्षमताबारे जानकारी राखी उपयुक्त किसिमले सम्बोधन गर्न ।

सक्षमता ४ : सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन (Learning Environment and Classroom Management)

बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्दै प्रभावकारी शिक्षण सिकाइका लागि कक्षा व्यवस्थापन गर्न सक्षम ।

·       सिकाइका निमित्त सुरक्षित, सहयोगात्मक र चुनौतीपूर्ण वातावरण सिर्जना गरी सक्रिय सहभागिता हासिल गर्न,

·       विद्यालयको समग्र विकासलाई ध्यान दिदै स्रोत र साधनको उपयुक्त व्यवस्थापन गरी बालमैत्री सिकाइ वातावरणको सिर्जना गर्न,

·       सबै सिकारुले रचनात्मक सिकाइ अवसर पाउने गरी आवश्यकताअनुसार समूहहरू परिचालन गर्न,

·       सकारात्मक अनुशासनमार्फत् सिकारुहरूबिच सहयोग तथा आपसी समझदारी कायम गरी आदर्श व्यवहारलाई प्रोत्साहित गर्न,

·       सिकारुलाई खोज तथा सिर्जना उन्मुख गराउनका लागि पुस्तकालय र सूचना प्रविधिको प्रयोग लगायत अन्य उपयुक्त साधन र अवसर उपलब्ध गराउन,

·       विषम परिस्थितिमा समेत कुशलतापूर्वक उपयुक्त वातावरण सिर्जना गरी सिकाइलाई निरन्तरता दिन ।

सक्षमता ५ : सञ्चार तथा सहकार्य (Communication and Collaboration)

विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबिच प्रभावकारी सञ्चार र सहकार्य गर्न सक्षम ।

·       खोज, सहकार्य तथा अन्तकियाका निमित्त प्रभावकारी सञ्चार गर्न,

·       सिकारुलाई सिकाइप्रति उत्साहित बनाउन, विषय वस्तु स्पष्ट पार्न, निर्देशन अनुरूपको कार्यमा सहभागी गराउन तथा शैक्षणिक परामर्श दिन प्रभावकारी रूपमा सञ्चार गर्न,

·       पेसागत विकास र विद्यार्थी सिकाइ प्रवर्धनका लागि सहकर्मीहरूबिच अनुभव, पृष्ठपोषणको आदान प्रदान, आपसी सहयोग र सहकार्य गर्न,

·       सिकारुको शिक्षण सिकाइमा सहभागिता र शैक्षिक

·       उपलब्धि लगायतका विषयको अभिलेखन तथा सहयोगका लागि अभिभावकसँग छलफल परामर्श गर्न ।

सक्षमता ६ : निरन्तर सिकाइ र पेसागत विकास (Continuous Learning and Professional Development)

·       आफूमा भएको ज्ञान, सिप एवम् अनुभवको विश्लेषण गरी निरन्तर सिकाइ र पेसागत विकासको लागि प्रतिबद्ध ।

·       पेसागत विकासका अवसरहरूको खोजी गरी निरन्तर सिकाइमा संलग्न रहन,

·       आफूले सम्पन्न गरेका कामहरूको स्वप्रतिबिम्बन (Reflection) गरी निरन्तर सुधारको प्रक्रियामा संलग्न रहन,

·       आफ्नो विषय क्षेत्रमा भएका अध्ययन अनुसन्धानबारे जानकारी राख्ने तथा शिक्षण सिकाइ सुधारका निमित्त कार्यमूलक अनुसन्धान गर्न,

·       आपसी सहयोग र सहकार्यमार्फत आफ्ना अभ्यास र व्यवहारमा नवप्रवर्तन तथा सिर्जनशीलताको विकास गर्दै पेसागत उन्नयनमा योगदान दिन,

सक्षमता ७ : कानुनी आधार तथा पेसागत आचार सहिता (Legal Bases and Professional Conduct)

·       प्रचलित ऐन नियम तथा सामाजिक मूल्य मान्यता अनुकूल आदर्श पेसागत आचरण प्रदर्शन गर्दै आफ्नो जिम्मेवारी तथा उत्तरदायित्त्व वहन गर्न सक्षम ।

·       आफ्नो पेसाप्रति सम्मान र निष्ठाभाव राख्ने तथा उच्चतम् नैतिक व्यवहार प्रदर्शन गर्दै सार्वजनिक विश्वास आर्जन गर्न

·       प्रचलित ऐन, नियमावली, निर्देशिकाहरूअनुरूपको आदर्श आचरण प्रदर्शन गर्दै आफ्नो कार्य तथा व्यवहारको जिम्मेवारी लिन

·       पेसागत आचार संहिता र पदीय मर्यादा अनुकूल सबै बाल

·       बालिकाप्रति तटस्थ र सम्मानजनक व्यवहार प्रदर्शन गर्न तथा उहाँहरूको सर्वोत्तम् हितका लागि प्रतिबद्ध रहन,

·       सामाजिक मूल्य मान्यता र स्थानीय संस्कृतिप्रति सम्मान तथा भिन्न विचार र आस्थाप्रति सहिष्णु व्यवहार प्रदर्शन गर्न,

·       शिक्षा सम्बन्धी विश्वव्यापी मान्यताहरू (मानव अधिकार, बाल अधिकार, मौलिक हकका रूपमा शिक्षा, सबैका लागि शिक्षा आदि) प्रति सचेत रहँदै सोअनुकूल व्यवहार प्रदर्शन गर्न ।

सक्षमता ८ : सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology)

प्रभावकारी शिक्षण सिकाइका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्षम

·       सिकाइलाई सहजीकरण गर्न सूचना तथा सञ्चार प्रविधिको एकीकृत सिकाइ रणनीतिहरूको छनौट तथा उपयोग गर्न,

·       सिकारुका आवश्यकता अनुकूल डिजिटल सामग्री विकास गर्न तथा उपलब्ध सामग्रीको अनुकूलन गरी उपयोग गर्न,

·       सूचना प्रविधिका साधनमार्फत सिकारुहरूको स्वसिकाइ प्रवर्धन गर्न आपसी सञ्चार र सहकार्यलाई प्रभावकारी बनाउन,

·       सिकाइको मूल्याङ्कन र पृष्ठपोषण प्रदान गर्न सूचना तथा सञ्चार प्रविधिको उपयोग गर्न,

·       शिक्षामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी नीति र डिजिटल संस्कृतिमा भएको विकासबारे परिचित हुँदै सो अनुकूल पेसागत व्यवहार पर्दशन गर्न ।

 

No comments:

Post a Comment

Life span of a battery 50?

 एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ । द इन्डिपेन्डेन्...