काठमाडौंका होटलहरुमा केही दिनअघि मात्रै अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विभन्न कार्यक्रम भए । केही कार्यक्रममा म आफैं पनि सहभागि भएँ ।त्यो दिन मेरो मनमा एउटा कुरा खेलेको थियो– हाम्रो समाजमा महिलाको स्थिति अब विस्तारै सुध्रदै छ । कानुन बनेको छ, आरक्षण भए पनि संसद्मा महिलाको उपस्थिति अब राम्रो छ । केही दिनअघि मात्र सपथ लिँदा पनि मैले संसद् भवनमा उल्लेख्य मात्रामा दिदीबहिनी देखेकी थिएँ ।त्यो दिन सामाजिक सन्जाल, अनलाइन मिडिया र भोलिपल्टका पत्रपत्रिकामा पनि महिला अनुहारमा एउटा खुसी देखिएको थियो ।
त्यो खुसी मेरो अनुहारमा पनि थियो । त्यही दिन मैले सन् २०१८ का लागि गरेका मेरा प्रतिबद्धताहरु सम्झिएँ, एउटा प्रतिबद्धता थियो– अझै पनि हामी महिला पछाडि परेका छौँ, महिलाको अवस्था सुधार्न म प्रतिबद्ध हुने छु ।
देशमा प्रजातन्त्र छ, देशमा लोकतन्त्र छ र हामी संघीय व्यवस्थामा पुगेका छौँ । यस्तो सन्दर्भमा महिलाको उपस्थिति मात्र होइन, देश बनाउन महिलाको भूमिका महत्वपूर्ण हुन्छ, अनिवार्य हुन्छ भन्ने विषयमा म नजिकका साथीहरुसँग सल्लाह पनि गरिरहेकी थिएँ । हामीले महिला सशक्तिकरणमा कुनै अभियान सुरु गरौँ भन्ने सल्लाह गरिरहेका थियौँ । यो वर्ष मैले २० नानीहरुलाई पठनपाठनमा सहयोग गर्ने घोषणा गरेकी थिएँ । मेरो जिल्ला दाङका ती साना नानीहरुमा मैले भविष्य देखेकी थिएँ, यो देशको मुहार देखेकी थिएँ । यसको तयारी पूरा गरेर अब कार्यान्वयनमा जानु पर्छ भन्ने हामी सोचिरहेका थियौँ ।
यही बीच तीन दिन अघि साँझ मैले एकैछिनका लागि फेसबुक खोलेँ । फेसबुकमा एक मित्रको पोस्टमा मैले जे देखेँ– मेरो हातगोडा काम्न थाले, मन कतै गहिरो तलाउमा भासिएको जस्तो अनुभूत भयो ।
त्यो पोस्ट एउटा समाचारको थियो– कैलाली जिल्लाकी राधा चौधरीबारे समाचार थियो त्यो ।
राधालाई गाउँमा बोक्सी आरोपमा कुटपिट भएको थियो । र, त्यो घन्टौ यातनाको मुकदर्शक बनेको थियो– त्यहाँको गाउँले ।
यो कुराले मेरो मन हल्लियो । केही बेर मैले केही पनि सोच्न सकिनँ । मोबाइललाई छेउमा राखेँ । केही बेरमा मोबाइल फेरि के झिकेकी थिएँ, मन झन् स्तब्ध भयो किनकि राधामाथिको त्यो अमानवीय दुव्र्यवहार त्यहाँका शिक्षक तथा जनप्रतिनिधिले नै हेरेका रहेछन् ।
परिवर्तनको एउटा झिल्को बोकेर हिँडिरहेको हाम्रो समाजमा कहाँको मुटु लिएर बसिरहेका छन् यी मानिसहरु, के उनीहरु एउटा छोरीको गर्भमाथि एउटा अधवैंशेले गरिरहेको प्रहारलाई कुनै मोजाको भकुन्डो बनाएर खेलेको बाल्यकाललाई सम्झिरहेका छन् ? त्यसले उनीहरुलाई आफ्नी आमाको पेटमा बज्रिएको एउटा पत्थरको भान किन दिन सकेन ?
म प्रजातन्त्रमा विश्वास गर्छु, म समाजको विकास नै देशको विकास हो भन्नेमा विश्वास गर्छु । र, मलाई थाहा छ, प्रत्येक व्यक्तिलाई यो समाजलाई उपयोग गर्न उत्तिकै अधिकार छ । तर, के राधाले यो समाजमा बाँच्न पाइन् ?
१८ वर्षकी र ११ कक्षामा पढ्दै गरेकी राधालाई यो समाजमा किन स्पेस छैन ? जबसम्म राधाहरुलाई यो समाजले सम्मानजनक ढंगमा बाँच्न पाउने अधिकार र पढ्दै, सिक्दै अगाडि बढ्ने स्पेस दिन सक्दैन, तबसम्म संसद् भवनमा महिला प्रतिनिधित्व देखेर मन खुसी हुन सक्दैन ।
किनकि म समाज र चेतनाको विकासमा विश्वास गर्छु, मलाई यो समाजको विकासमा प्रत्येक व्यक्तिको उत्तिकै भूमिका हुन्छ भन्ने लाग्छ । तर, कैलालीको देउकलिया र घोडाघोडीको समाजले के सिकाउन खोजेको छ ? के हामीले चाहेको एउटा उन्नत समाज यही हो ? सँगै यसले प्रश्न उठाएको छ– के हामी २१ औं शताब्दिमा नै छौँ ? के हामी मानिसको मस्तिष्कमा कुनै सिर्जना सुसाइरहेको छ, के मानिस सचेत प्राणी हो ?
हाम्रो देशको भविष्य अहिले राधाहरुको हातमा छ । तर, राधाहरुको भविष्य किन त्यस्तो पाशविक समाजले निर्धारण गरिरहेको छ ?
एउटा कुरुप अनुहार लिएर यो समाज कता जान खोजिरहेको छ, हाम्रो संवेदना किन मरिरहेछ ? के विकास भनेको र स्थानीय तहका अधिकारीलाई अधिकार दिनु भनेको समाजलाई कलंकित बनाउँदै लैजानु हो ? के यो यात्राले हामीलाई त्यहाँ पु¥याउँछ, जहाँ हामी गर्वका साथ हाम्रो शीर उँचो गर्न सक्छौँ ?
सिरियामा बाना अलावेद, पाकिस्तानकी मलाला युसुफजाईहरुमाथि आक्रमण गर्ने आतंककारी र हाम्री राधामाथि त्यो हिंसा गर्ने समाजमा के फरक भयो ? के हामी आफ्नै मनमा एउटा आतंककारी छवि निर्माण गरिरहेका छौँ ? हाम्रो समाजले यतिका वर्षमा सिकेको पाठ यही हो ?
यी र यस्ता प्रश्नहरु दर्जनौँ छन् ।
तर, प्रश्नहरु मात्र समाधान होइन । हो, एउटा जिम्मेवार ठाउँमा पुगेकाले ममाथि नैतिकता प्रश्नहरु पनि जन्मिन्छन्, मेरो यो विरोध विरोधमात्र हो भनेर टिप्पणी पनि हुन्छन् । मलाई चाहिँ के कुरामा विश्वास छ भने मैले यो विरोध नगर्ने हो भने हामीकहाँ आवाज कम उठ्न सक्छन् । अहिले उठिरहेका आवजमा र राधाहरुका विषयमा हामी अझ चर्को स्वरमा कुरा गर्न सक्नु पर्ने हुन्छ ।
त्यसका लागि हामीले आफूलाई राधा बनाएर हेरौँ, एक छिनका लागि राधा भएर सोचौँ । कुनै बन्द कोठामा वा हजारौंले देख्ने ठाउँमा मैनबत्ति बालेर मात्र पनि मन शान्त हुँदैन जहाँ खुलमखुल्ला राधाहरुमाथि अत्याचार भइरहेको छ । त्यसैले अब हामी चर्को स्वरमा बोलौँ– म राधा हुँ, मराधाहुँ ।
यो आवाज त्यो ठाउँसम्म पुगोस् जहाँ एउटा नारीमाथि अन्याय भइरहेको छ र यसले बदलोस् हाम्रो यो समाज । अनि ऐनामा देखियोस् एउटा सुन्दर समाज ।
आउनुस्, चर्को स्वरमा भनौँ– #मराधाहुँ ।
No comments:
Post a Comment